माओवादी केन्द्रको हुलाकी मार्गकेन्द्रित तराई–मधेस जागरण अभियान कचनकबलबाट सुरू हुँदै

 


माओवादी केन्द्रले हुलाकी मार्गकेन्द्रित तराई–मधेस जागरण अभियान झापाको कचनकबलबाट सुरू गर्ने भएको छ।

गत पुसको २१ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समिती बैठकको निर्णयअनुरूप फागुन १२ गतेबाट अभियान सुरू गर्ने गरी माओवादीले मातहतका समितिमा परिपत्र गरेको हो।

अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिने छ।

अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ।

अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन्।

कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियान गर्ने पनि तयारी गरेको छ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.